एआई प्रविधिमार्फत पत्रकारिता सशक्त बनाउँदै रामेछापका पत्रकार,
रामेछाप ।
सूचना प्रविधिमा आएको तीव्र परिवर्तनसँगै पत्रकारितालाई समयअनुकूल बनाउने उद्देश्यले रामेछापमा क्रियाशील पत्रकारहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
पौष १६ गतेदेखि १८ गतेसम्म मन्थलीमा सञ्चालन भएको तालिम संचार रजिष्ट्रारको कार्यालय हेटौँडाको प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा गरिएको थियोे ।
तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले प्रविधिको विकासले पत्रकारिताको कार्यशैलीमा समेत आमूल परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो । उहाँले एआई प्रविधिको सही र जिम्मेवार प्रयोगले समाचार उत्पादन प्रक्रियालाई छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारितामा एआई प्रयोग गर्दा समाचारको तथ्य जाँच गर्न, आचारसंहिता पालना गर्न र पत्रकारिताका मूल मूल्यमा सधैं ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिमका क्रममा प्रशिक्षक अजय शर्मा र शिव पुरीले एआईको परिचय, समाचार लेखनमा यसको प्रयोग, तथ्य जाँचका आधुनिक तरिका, तस्बिर तथा भिडियो सामग्री निर्माण, डिजिटल सुरक्षाका उपाय तथा पत्रकारितामा एआई प्रयोग गर्दा पालना गर्नुपर्ने नैतिक मापदण्डबारे व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो ।
तालिम सहभागीहरूले एआई प्रविधिबारे बुझाइ स्पष्ट हुनुका साथै व्यवहारिक प्रयोगमा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन् । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरेले यस्ता तालिमहरूले स्थानीय पत्रकारितालाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।![]()







