मरिण गाउँपालिकामा एचपिभी खोप लगाइने निर्णय, फाल्गुण २५ देखि अभियान सुरु

२०८२ माघ २२ गते, बिहीबार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने एच.पि.भी. (HPV) खोप सम्बन्धी गाउँपालिका खोप समन्वय समितिको बैठक तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

गोष्ठी मरिण गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष श्री विमर्श मुक्तानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री महेश श्रेष्ठ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा आगामी २०८२ साल फाल्गुण २५ गतेदेखि गाउँपालिकाभरिका कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर पूरा गरेका सबै बालिकाहरूलाई एच.पि.भी. खोप लगाइने निर्णय गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले भन्नुभयो,
एच.पि.भी. खोप महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण छ। पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट भविष्यका छोरीहरूलाई जोगाउन यो अभियान प्रभावकारी रूपमा सफल बनाउने हाम्रो दायित्व हो । यसका लागि अभिभावक, विद्यालय र समुदाय सबैको सक्रिय सहकार्य आवश्यक छ।
बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीय तहबीच समन्वय गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र लक्षित समूहसम्म खोप सहज रूपमा पुर्‍याउने विषयमा समेत छलफल गरिएको थियो।

मरिण गाउँपालिकाले यो अभियानलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवाला निकायलाई सहकार्यका लागि आग्रह गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon