मन्थली–खुर्कोट सडकखण्डमा बस दुर्घटना : ९ जनाको मृत्यु, ८ घाइते,

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप ।

रामेछापको मन्थली–खुर्कोट सडकखण्ड अन्तर्गत मन्थली नगरपालिका–६ बेनीघाट पुल नजिक आज भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

काठमाडौंबाट मन्थली–खुर्कोट हुँदै ओखलढुंगा तर्फ जाँदै गरेको ना.प्र.००१–०५५ र ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रा.लि.को बस आज बिहान करिब १०:४० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको सक्रियतामा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। बसमा सवार ७ पुरुष र २ महिलासहित ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सबैको शव मन्थली अस्पतालमा ल्याइएको छ।

दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको उपचार जारी रहेको छ। गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। बस चालक सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। सडकको अवस्था, सवारीको गति तथा प्राविधिक कारणबारे विस्तृत छानबिन गरिने जनाइएको छ भने यस दुर्घटनाले समग्र जिल्लालाई शोकमा डुबाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon