मन्थली–खुर्कोट सडकखण्डमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु, ८ जना घाइते

२०८२ माघ २७ गते, मंगलवार

रामेछाप।
रामेछाप जिल्लाको मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग अन्तर्गत मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।

आज मंगलबार  काठमाडौँबाट मन्थलीतर्फ जाँदै गरेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको यात्रुबाहक बस बिहान करिब १०:४० बजे सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

दुर्घटनामा परेकामध्ये ७ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक सबैको शव मन्थली अस्पतालमा राखिएको छ। मृतकहरू रामेछाप, दोलखा र सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा रहेका छन्।

दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रारम्भिक उपचारपछि ७ जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

बस चालक सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेका छन् भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon