मरिण गाउँपालिकामा झडपपछि औपचारिक बैठक सम्पन्न, आपसी समझदारीमा अघि बढ्ने प्रतिबद्धता,

२०८२ फाल्गुन १२ गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा हिजो भएको झडपको घटनापछि आज गाउँपालिका अध्यक्षको कार्यकक्षमा औपचारिक बैठक सम्पन्न भएको छ।

बैठकमा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात), Chinese Embassy in Nepalका उपप्रमुख तथा सम्बन्धित कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा हिजो उत्पन्न भएको झडपको पृष्ठभूमि, त्यसबाट सिर्जित परिस्थिति तथा त्यसका कारणबारे वस्तुगत समीक्षा गरिएको थियो भने आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने आवश्यक कदमबारे गम्भीरतापूर्वक छलफल भएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले भन्नुभयो,
हिजोको घटना दुर्भाग्यपूर्ण थियो। आपसी संवादको अभाव र केही गलतफहमीका कारण परिस्थिति असहज बन्न पुगेको हो। आजको बैठकले ती सबै विषय स्पष्ट पारेको छ। अब हामी पारस्परिक सम्मान, समन्वय र समझदारीका आधारमा अगाडि बढ्नेछौँ । उहाँले आगामी दिनमा सूचना आदान–प्रदानलाई थप व्यवस्थित र पारदर्शी बनाउने, सम्बन्धित पक्षबीच नियमित समन्वय बैठक गर्ने तथा विकास निर्माणका कामहरू सौहार्दपूर्ण वातावरणमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

बैठकमा सहभागी दुवै पक्षले भविष्यमा यस्ता अवस्था दोहोरिन नदिन सहकार्य र संवादलाई प्राथमिकतामा राख्ने सहमति जनाएका छन्। विकास निर्माणका कार्यहरूलाई प्रभावकारी र विवादरहित रूपमा अगाडि बढाउने विषयमा समेत साझा समझदारी कायम भएको बताइएको छ।

यससँगै मरिण गाउँपालिकामा देखिएको तनावपूर्ण अवस्था साम्य हुँदै गएको र आगामी दिनहरूमा आपसी सहकार्य र विश्वासका आधारमा कार्य सञ्चालन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon