रामेछापमा बोलेरोको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, अवस्था तनावपूर्ण

२०८२ फाल्गुन ९ गते, शनिबार

रामेछाप ।

रामेछाप नगरपालिका वडा नं. ६ च्यास्कु बजारमा गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ।

आज दिउँसो करिब २ बजेको समयमा बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरो गाडीको ठक्करबाट सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी ४ वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको वडा सदस्य खड्ग बहादुर मगरले जानकारी दिनुभयो।उहाँका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो गाडी सटरभित्रै छिरेको थियो। गाडीको नियमित चालक नभएको मौका छोपेर अटो चालक तिर्थ बहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेर शव उठाउने क्रममा आफन्तको मन्जुरी बिना एम्बुलेन्समा राखेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले प्रहरी चौकी रामेछाप डाँडाका असईमाथि हातपात गर्ने प्रयाससमेत गरेका छन्। हाल घटनास्थलको अवस्था तनावपूर्ण रहेको जनाइएको छ।

गाडीको ठक्करबाट केही स्थानीय घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि रामेछाप अस्पताल ल्याइएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon