सिन्धुलीको मरिण गाउँपालिकामा साइबर सचेतना कार्यक्रम सम्पन्न,

२०८३ जेष्ठ १ गते, शुक्रबार

सिन्धुली ।
सिन्धुलीको मरिणमा आज ( शुक्रबार ) गाउँपालिका स्तरीय साइबर सचेतना कार्यक्रम मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा श्री कपिलाकोट माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर सूर्य प्रकाश सुवेदीले प्रशिक्षक तथा प्राविधिक सहयोगकर्ताको भूमिका निर्वाह गर्दै साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डिजिटल माध्यमको दुरुपयोग तथा विद्यार्थीहरूले अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक अर्मीत सिंह घिसिङ, विद्यार्थीहरू, शिक्षकहरू, अभिभावक लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले आजको डिजिटल युगमा साइबर सचेतना अत्यन्त आवश्यक रहेको बताउँदै प्रविधिको सही प्रयोगले अवसर सिर्जना गर्ने तर गलत प्रयोगले ठूलो क्षति पुर्‍याउन सक्ने उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न, अपरिचित व्यक्तिको प्रभावमा नपर्न तथा अनलाइन माध्यममा व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गर्नुभयो। साथै गाउँपालिकाले शिक्षा र सचेतनामूलक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर सुरक्षासम्बन्धी व्यवहारिक जानकारी प्राप्त गरेको बताएका थिए भने विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको थियो। 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon