मरिण गाउँपालिकामा मेलमिलापकर्ता तथा टोल विकास संस्थाका प्रतिनिधिका लागि पुनर्ताजगी कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिका मा आज (शुक्रबार) एक दिने पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको सभाहलमा विमला माझी को अध्यक्षता तथा विमर्श मुक्तान को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाभित्रका सबै वडाका मेलमिलापकर्ता तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक मुकुन्द प्रसाद काफ्ले ले मेलमिलाप, सामाजिक सहकार्य तथा समुदायस्तरमा देखिने विवाद समाधानका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे । साथै नि. प्रमुख प्रशासकीय अधिकृत मधु लाखे लगायत वडाका सम्बन्धित व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ले स्थानीय तहमा मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै समुदायमा हुने सामान्य विवादलाई स्थानीय स्तरमै समाधान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे। उहाँले मेलमिलापकर्ताहरूलाई निष्पक्ष, जिम्मेवार र सक्रिय भएर काम गर्न आग्रह गर्दै गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।![]()
कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष विमला माझी ले न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउन पुनर्ताजगी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले मेलमिलापकर्ताहरू समुदायस्तरको शान्ति, सद्भाव र सहकार्यका महत्वपूर्ण आधार भएको बताउँदै प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
![]()
कार्यक्रम सहभागीहरूबीच अनुभव आदानप्रदान, छलफल तथा अन्तरक्रियासहित सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।![]()







