गोलन्जोर गाउँपालिकाले गर्‍यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा,

२०८३ जेष्ठ ८ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुलीकाे गोलन्जोर गाउँपालिकामा “स्थानीय स्रोत उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका सम्पूर्ण ७२७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि (हिजो) मिति २०८३ जेठ ७ गते बिहीबार गाउँपालिका सभाहलमा विशेष समारोह आयोजना गरिएको थियोे ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तथा सदस्य–सचिवको प्रस्ताव र गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको समर्थनमा गाउँपालिका अध्यक्ष एवं पालिका खोप समन्वय समितिका संयोजक श्री शंकरराज बरालले गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका” घोषणा गर्नुभएको थियो।

उक्त अवसरमा पूर्ण खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने व्यक्तित्व, स्वास्थ्य संस्था, वडा खोप समन्वय समिति तथा जिल्ला जनस्वास्थ्य कार्यालयलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो।

कार्यक्रममा सरोकारवालाहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाइने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon