हल्लिने पुल, बोल्ने प्रकृति
२०८३ असार २० गते, शनिबार
![]()
लेखक : निरु थापा रामेछाप नपा ७ रामेछाप
यो पुलमा टेकिएको हरेक पाइला,
साहस र विश्वासको कथा बन्छ।
डगमगाए पनि नढल्ने पुलझैँ,
जीवनले अघि बढ्न सिकाउँछ।
हरियालीको काखमा झुन्डिएको यो पुल,
हावाको तालमा बिस्तारै हल्लिन्छ
दुई किनारा मात्र होइन,
मन र प्रकृतिलाई पनि जोडिरहन्छ।
वनका रूखहरूले छायाँ ओढाएका,
चराचुरुङ्गीले गीत गाएका बाटाहरू।
खोलाको मधुर स्वर मिसिँदा,
लाग्छ प्रकृतिले आफै गित गाउँछ।
हरियो वन, शीतल हावा,
माटोको सुगन्ध र प्रकृतिको मिठास।
यही शान्त वातावरणभित्र,
मनका सबै थकान हराएर जान्छन्।
हल्ने पुल,
तिमी बाटो मात्र होइनौ,
प्रकृतिको अनुपम सौन्दर्य र
जीवनको भरोसाको प्रतीक हौ।







