मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ ,६०२ योजनामध्ये ५२४ सम्पन्न,

२०८३ असार २६ गते, शुक्रबार

रामेछाप ।

रामेछापकाे मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिकसम्मको प्रगति सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले प्रस्तुत गरेको विवरणअनुसार नगरपालिकाले सञ्चालन गरेका ६०२ योजनामध्ये ५४४ योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएकामा ५२४ योजनाको काम सम्पन्न भई भुक्तानी भइसकेको छ। ठेक्का प्रक्रियाबाट सञ्चालन गरिएका ३२ आयोजनामध्ये ३० वटा सम्पन्न भएका छन् भने दुई वटा आगामी आर्थिक वर्षका लागि क्रमागत योजनाका रूपमा राखिएका छन्।

यस वर्ष वडा नं. ९ को कार्यालय भवन निर्माण सम्पन्न भएसँगै १४ वडामध्ये १२ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन्। नगरपालिकाले २५ लाख रुपैयाँभन्दा माथिका सबै आयोजना बोलपत्र प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति कायम राखेको जनाएको छ। साथै चालु वर्षमा ४ वटा नक्सा पास, ६ वटा सुपरस्ट्रक्चर इजाजत, २ वटा निर्माण सम्पन्न प्रमाणपत्र र ७ वटा अभिलेखीकरण गरिएको जानकारी पनि सार्वजनिक गरिएको छ।

सार्वजनिक सुनुवाइमा नगर प्रमुख लब श्रेष्ठ, उपप्रमुख इश्वरी बस्नेत, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले उठाएका जिज्ञासाको नगर नेतृत्वले जवाफ दिएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon