यस्तो छ सांसदले पाउने तलब, सेवा र सुविधाहरु
काठमाडाैं । आम सर्वसाधारण नागरिकलाई चासोको विषय भनेकै सांसदहरुको तलव भत्ता नै हो ।
सांसदहरुले के के सेवा, सुविधा पाउँछन् ? कस्तो सेवा, सुविधा हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान् भन्ने सबैको चासो छ ।
प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।
त्यस्तै काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ पाउँछन् । निर्वाचित सांसदहरुलाई एकपटकका लागि फर्निचर खरिद बापत एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ ।
सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन् । सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकिय सचिवको पारिश्रमिक खातामा हालिदिने गरिएको छ ।
सांसदहरुले स्वदेशभित्र भ्रमण गरेमा दैनिक भत्ता २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमणमा प्रतिदिन २२५ डलर पाउनेछन् । त्यस्तै संसदको कामको सिलसिलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा कुटनीतिक राहदानी उपलब्ध गराउने छ ।
सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । अस्पताल भर्ना हुनुपरेमा सरकारी अस्पतालमा भर्ना भएको बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।
त्यस्तै सांसदहरुले पेश्की लिन चाहेको खण्डमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सक्ने छन् ।
विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था गरिएको छ ।







