स्वास्थ्य प्रणाली सुधार गर्न नेपालले विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण लिने

२०८० कार्तिक १६ गते, बिहीबार

नेपालले विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण लिनका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।

अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले एक सय मिलियन अमेरिकी डलर अर्थात् १३ अर्ब २६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सहायताका लागि हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता डिजिटल रूपमा हस्ताक्षर भएको छ । नेपाल र विश्व बैंकबीच डिजिटल हस्ताक्षर भएको यो पहिलो सम्झौता हो ।

विश्व बैंकबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋणबाट नेपालको स्वास्थ्य सेवामा वृद्धि, स्वास्थ्य बीमाको पहुँचमा वृद्धि र आपत्कालीन स्वास्थ्य सुदृढीकरणका काम हुनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम सङ्घीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनाेट गरिएका प्रदेश तथा पालिकासँगको समन्वयमा कार्यान्वयन गर्नेछ । गुणस्तरीय स्वास्थ्य सेवाले मानव पुँजी विकासको आधारशिलाको रूपमा काम गर्दछ । यो सहायताले उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न सहयोग पुग्नेछ’, हस्ताक्षरपछिको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका सचिव पुष्करले विश्व बैंक नेपालको एक प्रमुख सहयोगी संस्था भएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण र अनुदानका लागि धन्यवाद दिनुभयो । यस्तै विश्व बैंकले ३८ लाख ४० हजार अमेरिकी डलर अर्थात् ५० करोड ९३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon