दु:खद घडीमा अध्यक्ष वाइबाकाे साथ,मृतक परिवारलाई खाद्यान्न सहयोग,
![]()
सिन्धुली ।
सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाको वडा नम्बर ५, लाटिखोला निवासी मृतक शोभा सिं बलको परिवारलाई प्रत्यक्ष राहत प्रदान गर्नुभएको छ । आर्थिक अभाव र दुःखद घटनाबाट पिडित भएको परिवारलाई अध्यक्ष वाइबाले शनिबार घरमै पुगेर आवश्यक खाद्यान्न तथा सामग्री सहयोग गर्नुभएको थियो ।
शोकसन्तप्त बल परिवारलाई अध्यक्ष वाइबाले पाँच बोरा चामल, दुई बोरा चिउरा, दश केजी दाल, दश केजी नुन, पाँच लिटर खानेतेल र एक केजी जिरा सहयोग स्वरूप हस्तान्तरण गरे। स्थानीय तहका जनप्रतिनिधिले विपत्तिको बेलामा यति नजिकबाट साथ दिने दृश्य विरलै देखिन्छ। अध्यक्ष वाइबाको यो सहानुभूतिपूर्ण क्रियाकलापले गाउँपालिका भित्रको मानवियताको छायाँ झल्काउँछ।
सहयोग ग्रहण गरेपछि मृतक शोभा सिं बलका परिवारजनले अध्यक्ष वाइबालाई धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले यस्तो कठिन घडीमा राज्यका प्रतिनिधि स्वयं आएर दुःख बाँडेपछि केही समय भए पनि शोक कम भएको महसुस भएको बताएका छन्। स्थानीयहरूका अनुसार, वाइबाले यसअघि पनि विपन्न, अपांगता भएका तथा प्राकृतिक विपत्ताबाट पीडित भएका परिवारलाई निरन्तर रूपमा राहत सहयोग गर्दै आउनु भएको छ ।
अध्यक्ष वाइबाले सहयोग हस्तान्तरणपछि संक्षिप्त भनाइ दिंदै सामाजिक उत्तरदायित्व पूरा गर्नु आफूले निर्वाचित जनप्रतिनिधिको नाताले निर्वाह गर्नैपर्ने कर्तव्य भएको बताउनु भयो “समाजका पीडित वर्गका आवाज सुन्न, म यो ठाउँमा जनताको सेवक भएर आएको हुँ, त्यसैले यस्ता मानवीय काममा अझ सक्रिय भएर लाग्नेछु,” उहाले भन्नुभयो ।
स्थानीय नागरिक र सरोकारवाला पक्षले वाइबाको यो पहललाई अत्यन्त सकारात्मक रूपमा लिएको छ। उहाकाे यस्ता कार्यले गाउँमा मानवीयता, सहानुभूति र सामाजिक सहकार्यको भावना थप बलियो बनाउने विश्वास गरिएको छ। सामाजिक काममा निरन्तरता दिँदै जनताको मन जित्दै आएका अध्यक्ष वाइबालाई धेरैले आदर्श नेतृत्वको उदाहरणका रूपमा समेत लिन थालेका छन्।![]()







