हरिहरपुरगढी गाउँपालिका वडा नं ५ मा वडा स्तरीय खेलकुद प्रतियोगिताकाे उद्घाटन समारोह सम्पन्न,

२०८२ कार्तिक १ गते, शनिबार

सिन्धुली ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ युवा सशक्तिकरण, स्वास्थ्य प्रवर्द्धन र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ मा आयोजना गरिएको वडा स्तरीय खेलकुद प्रतियोगिता आज(शनिबार ) उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वडा अध्यक्ष श्री साईला लामाको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष श्री बज्रध्वज वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा स्थानीय समुदाय, विद्यालय, युवा क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री बज्रध्वज वाईवाले खेलकुदले युवाहरूमा अनुशासन, परिश्रम र आत्मविश्वासको विकास गर्ने भन्दै यस्ता प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहबाट खेलकुद प्रवर्द्धनका लागि आवश्यक सहयोग निरन्तर गरिरहने प्रतिबद्धता समेत गर्नुभयो ।

वडा अध्यक्ष श्री साईला लामाले सहभागी सबै खेलाडीलाई सफलताको शुभकामना दिंदै खेलकुदले सामाजिक सद्भाव र आपसी समझदारी बलियो बनाउने उल्लेख गर्नुभयाे ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालय र युवा क्लबका टोलिहरूबीच फुटबल, भलिबल, दौड, कबड्डीलगायत खेलहरू समावेश गरिएको छ। खेलकुदको समापन समारोह आगामी केही दिनमै आयोजना गरिने र विजयी खेलाडी तथा टोलीहरूलाई पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएका छन्।
यस कार्यक्रमले स्थानीय स्तरमै लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने अवसर प्रदान गरेको छ, जसले आगामी दिनमा अझ व्यापक सहभागिता र सफल आयोजनाको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon