रामेछाप नगरपालिकामा मेलमिलापकर्ताको दुईदिने अभिमुखिकरण सम्पन्न

२०८२ मंसिर ८ गते, सोमबार

रामेछाप ।

रामेछाप नगरपालिकाले सामुदायिक मेलमिलापकर्ताहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखिकरण कार्यक्रम (आज)सोमबार सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम “विवादको साटो मेलमिलापको बाटो” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हाे ।

गाउँघरमा विशेष गरी लेनदेनसँग सम्बन्धित विवादहरू बढ्न थालेपछि मेलमिलापकर्ताहरूले विवाद समाधानका क्रममा भोग्दै आएका कानूनी तथा व्यावहारिक चुनौतीलाई सम्बोधन गर्न अभिमुखिकरण गरिएको नगरपालिकाले जनाएको छ।

मेलमिलापकर्ताहरूका अनुसार बिना प्रमाणका लेनदेनका विवादहरू निरुपणमा सबैभन्दा चुनौतीपूर्ण बन्ने गरेका छन्।
कार्यक्रममा जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले मेलमिलापकर्ताहरूले राखेका कानूनी जिज्ञासाका विषयमा विस्तृत प्रष्टिकरण प्रदान गर्नुभयो। उहाँले न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरूले “अदालतभन्दा पनि ठूलो काम गर्दै आएको” उल्लेख गर्दै, अदालतमा वर्षौँसम्म टुंगो नलाग्ने मुद्दाहरूलाई मेलमिलापका माध्यमबाट दुवै पक्षको जित हुनेगरी सहजरूपमा समाधान गर्दै आएको बताउनुभयो। यस प्रक्रियाप्रति नागरिकहरूको विश्वास पनि बढ्दै गएको उहाँको भनाइ थियो।

त्यसैगरी, न्यायिक समितिका संयोजक तथा रामेछाप नगरपालिकाकी उप–प्रमुख बाल कुमारी कार्कीले नगरपालिकाले हरेक वर्ष मेलमिलापकर्ताहरूलाई न्यायाधीशको उपस्थितिमा अभिमुखिकरण गर्दै आएको बताउनुभयो। मेलमिलाप सेवालाई सबैको पहुँचमा पुर्‍याउन सवै वडामा वडाअध्यक्षको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको जानकारी दिनुभयो भने कार्यक्रममा नगरपालिकाका ९ वटै वडाबाट सूचिकृत मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon