४२.५६% बजेट खर्चसहित रामेछाप नगरपालिकाको कार्यप्रगति सार्वजनिक,
रामेछाप ।
रामेछाप नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्म कुल बजेटको ४२.५६ प्रतिशत खर्च गरेको जानकारी दिएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले नगरपालिकाको हालसम्मको कामको प्रगति र बजेट कार्यान्वयनको अवस्थाबारे विवरण प्रस्तुत गर्नुभयो।
प्राप्त जानकारीअनुसार चालूतर्फ २८ करोड ३९ लाख ८५ हजार १७४ रुपैयाँ अर्थात् ५४.९४ प्रतिशत खर्च हुँदा पूँजीगततर्फ ७ करोड ८२ लाख ५९ हजार ७६० रुपैयाँ अर्थात् २३.४२ प्रतिशत बजेट खर्च भएको छ।
वडा नं. ८ को भंगेरी माध्यमिक विद्यालयमा आयोजित एकीकृत घुम्ती शिविरसहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा विपद् व्यवस्थापनका विषयमा चासो व्यक्त गर्दै प्रश्न राखेका थिए। कार्यक्रममा स्वास्थ्य, पशु र कृषि सेवासमेत उपलब्ध गराइएको थियो।
उठेका प्रश्नहरूको जवाफ नगर प्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं तथा सम्बन्धित वडाका अध्यक्षहरूले दिएका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की, नगर प्रवक्ता समिर कार्की, वडाध्यक्षहरू, कर्मचारी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो







