गोलन्जोर गाउँपालिकामा वैशाख २१ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुने,

२०८३ बैशाख ८ गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिसम्म सम्पन्न भएका कार्यक्रम तथा सेवा प्रवाहसम्बन्धी जानकारी सार्वजनिक गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रावधानअनुसार सार्वजनिक निकायले आफ्ना कामकारबाही पारदर्शी रूपमा प्रस्तुत गर्नुपर्ने भएकाले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रम वैशाख २१ गते सोमबार बिहान ११:०० बजे गाउँपालिकाको कार्यालय अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण, ग्वालटारमा सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन भएका पूर्वाधार विकास, आर्थिक विकास, सुशासन तथा सेवा प्रवाहसम्बन्धी गतिविधिबारे जानकारी दिइनेछ। साथै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, गैरसरकारी संघ–संस्था, सहकारी, स्वास्थ्य संस्था, उपभोक्ता समिति, महिला समूह, बाल क्लब तथा आम नागरिकको सहभागितामा खुला छलफल समेत हुने बताइएको छ।

गाउँपालिकाले सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित भई सुझाव तथा गुनासा राख्न अनुरोध गरेको छ। साथै गाउँ कार्यपालिकाका कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको अनिवार्य उपस्थिति रहने पनि सूचनामा उल्लेख गरिएको छ।

उक्त कार्यक्रमले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon