मरिण गाउँपालिकामा कानूनी पहिचान सम्बन्धी अन्तरक्रियात्मक छलफल सम्पन्न,
सिन्धुली ।
मरिण गाउँपालिकाको सभाहलमा आज(शुक्रबार) कानूनि पहिचान (जन्म दर्ता तथा नागरिकता) सम्बन्धी महत्वपूर्ण अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात), उपाध्यक्ष विमला माझी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मधु लाखे, विभिन्न वडाका वडाअध्यक्ष, वडा सचिव, वडा सहायक तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा स्किम श्रेष्ठ ले प्रशिक्षण प्रदान गर्दै जन्म दर्ता, नागरिकता प्राप्ति प्रक्रिया, कानूनी पहिचानको आवश्यकता तथा नागरिकमैत्री सेवा प्रवाहका विषयमा विस्तृत जानकारी दिनुभएको थियो। उहाँले कानूनी पहिचान नागरिकको आधारभूत अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले सेवा प्रवाहका क्रममा देखिएका समस्या, व्यवहारिक अनुभव तथा सुधारका सुझावहरू प्रस्तुत गर्दै स्थानीय स्तरमा जनताको पहुँच सहज बनाउने विषयमा खुला छलफल गरेका थिए।
गाउँपालिकाका पदाधिकारीहरूले यस्ता कार्यक्रमले कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै नागरिकलाई छिटो, सहज र विश्वसनीय सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले स्थानीय तहमा कानूनी पहिचानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सेवा सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।![]()







