गाउँमै स्वास्थ्य सेवा,गोलन्जोरमा एकीकृत स्वास्थ्य प्रवर्द्धन कार्यक्रमबाट ६१६ नागरिक लाभान्वित,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका मा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको ‘मासिक एकीकृत स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख महिनाभर सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत ग्रामीण भेगका सयौं नागरिकले गाउँमै पुगेर स्वास्थ्य सेवा प्राप्त गरेका छन्
गाउँपालिकाका अनुसार मिति २०८३ वैशाख २१ गतेदेखि २६ गतेसम्म रतनचुरा, नाकाजोली, किराते, तिनकन्या, भिमेश्वर, धोक्सिला, बाशेश्वर वितिजोर र डुडभन्ज्याङ्ग गरी ९ वटा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
कार्यक्रमबाट कुल ६१६ जना सेवाग्राही लाभान्वित भएका छन्। जसमध्ये ५१३ जना महिला र १०३ जना पुरुष रहेका छन्। महिलाको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि १२१ जनामा VIA Screening गरिएको थियो।
त्यसैगरी, ७१ जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउण्डमार्फत स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। परिवार नियोजन सेवातर्फ १४ जनाले इम्प्लान्ट सेवा लिएका छन्।
शिविरका क्रममा संक्रामक तथा नसर्ने रोगको प्रारम्भिक पहिचानमा समेत जोड दिइएको थियो। ८२ जना शंकास्पद क्षयरोगीको खकार संकलन गरी परीक्षणका लागि पठाइएको छ।
प्रजनन् स्वास्थ्य समस्या अन्तर्गत १५ जनामा आङ खस्ने समस्या (Pelvic Organ Prolapse) पहिचान भएको थियो। तीमध्ये ६ जनालाई रिङ पेसरी सेवा प्रदान गरिएको छ भने ५ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि सिफारिस गरिएको जनाइएको छ। साथै, २३ जनामा यौनजन्य संक्रमण (STI) सम्बन्धी समस्या देखिएको तथ्यांकमा उल्लेख छ।
गाउँपालिकाका अनुसार कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रका महिला, गर्भवती तथा स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ। शिविरमार्फत जटिल रोगहरूको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुगेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
तथ्यांकअनुसार सबैभन्दा बढी ९८ जना सेवाग्राही डुडभन्ज्याङ्ग स्वास्थ्य चौकीमा सहभागी भएका थिए भने सबैभन्दा कम ४४ जना बाशेश्वर स्वास्थ्य चौकीमा सहभागी भएका थिए।![]()







