नगरको लक्ष्य अपूरो, वडा नं. ८ ले सबैभन्दा बढी राजस्व उठायो,

२०८३ असार ११ गते, बिहीबार

रामेछाप ।

रामेछाप नगरपालिकाको समग्र राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा १ करोड १७ लाख ७४ हजार ७ सय रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको नगरपालिकाले हालसम्म ९० लाख ६३ हजार १ सय ६१ रुपैयाँ मात्रै संकलन गरेको छ। लक्ष्यअनुसार राजस्व उठाउन नसकेको नगरपालिकाबीच वडा नं. ८ भने सबैभन्दा अब्बल देखिएको छ।

रामेछाप नगरपालिकाको १९औँ नगरसभा अधिवेशन उद्घाटन सत्रमा सार्वजनिक गरिएको विवरणअनुसार नगरपालिकाले प्रत्यक्षतर्फ ३१ लाख ८७ हजार ३ सय ३२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

बाँकी राजस्व वडा तहबाट उठाइएको हो।
सार्वजनिक विवरणअनुसार वडा नं. ८ ले १० लाख १८ हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन गर्दै नगरपालिकाभित्र पहिलो स्थान हासिल गरेको छ। वडा नं. ७ ले ९ लाख ६८ हजार ६ सय ९७ रुपैयाँ संकलन गर्दै दोस्रो स्थानमा रहँदा वडा नं. ३ ले ७ लाख ९२ हजार ४ सय ६१ रुपैयाँ उठाएर तेस्रो स्थान बनाएको छ।

त्यसैगरी वडा नं. ४ ले ६ लाख ९ हजार १ सय ९९ रुपैयाँ, वडा नं. ९ ले ५ लाख ८६ हजार ५ सय १५ रुपैयाँ, वडा नं. ६ ले ५ लाख ७७ हजार २ सय २३ रुपैयाँ, वडा नं. ५ ले ४ लाख ७८ हजार ३ सय ९९ रुपैयाँ, वडा नं. २ ले ४ लाख ६१ हजार ३ सय ६३ रुपैयाँ र वडा नं. १ ले ३ लाख ९२ हजार ४७ रुपैयाँ राजस्व संकलन गरेका छन्।

समग्र नगरको राजस्व अवस्था कमजोर देखिएको बेला वडा नं. ८ को प्रदर्शन भने उल्लेखनीय बनेको छ। नगरपालिकाभित्रका ९ वटै वडामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्दै वडा नं. ८ ले नेतृत्वदायी भूमिका देखाएको हो। राजस्व संकलनमा वडा नं. ८ को यो उपलब्धिलाई वडास्तरको सक्रियता, समन्वय र परिणाममुखी कार्यशैलीको प्रतिफलका रूपमा देखिएको छ।

वडा नं. ८ लाई नगरकै अग्रस्थानमा पुर्‍याउन वडा अध्यक्ष सन्तोष कुमार तामाङ, वडा सदस्यहरू तथा वडा सचिव दिपा बरालको सक्रिय भूमिका रहेको बताइएको छ। राजस्व संकलनमा उनीहरूको निरन्तर पहल, जनस्तरसम्मको समन्वय र प्रशासनिक सक्रियताले वडा नं. ८ लाई अन्य वडाभन्दा अगाडि उभ्याएको देखिन्छ।

नगरपालिकाको समग्र लक्ष्य भने अझै अपूरै छ। चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुले नगरको आन्तरिक आम्दानी सुदृढीकरणमा चुनौती देखिएको छ। तर यही अवस्थाबीच वडा नं. ८ ले भने ‘काम गरेर देखाउने वडा’को परिचय बनाएको छ।

यसैबीच रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८० करोड ८६ लाख रुपैयाँभन्दा बढीको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। अब नगरपालिकाको समग्र राजस्व संकलन सुधार्न वडा नं. ८ ले देखाएको सक्रियता र कार्यदक्षतालाई अन्य वडाले पनि अनुसरण गर्नुपर्ने देखिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon