प्रधानमन्त्री कप : एपीएफकाे लगातार पाँचाैँ जित, काेशीले गण्डकीलाई ५५ रनले हरायाे

२०८० पुष ११ गते, बुधबार

 प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ ।

आज बुधवार भएकाे खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनकाे फराकिलाे अन्तरले हरायाे । एपीएफले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायाे । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चाैधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् ।

याे जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायाे । काेशीले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयाे । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायाे । काेशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गाेदार सृष्टि जैसीले समान २ विकेट लिइन् ।

याे जितसँगै ५ खेलमा ८ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । गण्डकी ५ खेलमा २ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon