रामेछापको मन्थली नगरपालिका वित्तीय जोखिम मूल्याङ्कनमा उत्कृष्ट, खाँडादेवी सबैभन्दा कमजोर

२०८२ बैशाख १० गते, बुधबार

रामेछाप ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका आर्थिक वर्ष २०८०/८१ का लागि गरिएको स्थानीय तहको वित्तीय जोखिम मूल्याङ्कनमा जिल्लामै पहिलो स्थानमा परेको छ। स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहहरूले प्रणालीमा अपलोड गरेका कागजातहरूको आधारमा गरिएको मूल्याङ्कनमा मन्थलीले ९१ अंक प्राप्त गरेको हो।

दोस्रो स्थानमा उमाकुण्ड गाउँपालिका ८८ अंकसहित आएको छ भने रामेछाप नगरपालिका ८०.५० अंकका साथ तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा ७३ अंकसहित सुनापति गाउँपालिका, पाँचौँमा गोकुलगंगा गाउँपालिका (७२ अंक), छैठौँमा लिखुतामाकोशी गाउँपालिका (६६ अंक), र सातौँ स्थानमा दोरम्बा शैलुङ गाउँपालिका (६५.५० अंक) रहेका छन्।

जिल्लाका आठ वटै पालिकामध्ये सबैभन्दा कम ६३ अंक प्राप्त गर्दै खाँडादेवी गाउँपालिका अन्तिम आठौँ स्थानमा परेको छ।

वित्तीय जोखिम मूल्याङ्कनको उद्देश्य स्थानीय तहको वित्त प्रणालीलाई व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउने हो। यसले संभावित जोखिम क्षेत्रहरूको पहिचान गर्दै लेखापरिक्षणमार्फत स्थानीय तहमा वित्तीय सुशासनलाई मजबुत बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

उक्त मूल्याङ्कनको नतिजाले मन्थली नगरपालिकामा न्यूनतम वित्तीय जोखिम रहेको देखाएको छ भने खाँडादेवी गाउँपालिका सबैभन्दा उच्च जोखिममा परेको संकेत गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon