रामेछापका भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया रामपुरबाट सुरु,
रामेछाप ।
रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरणको तयारीस्वरूप निस्सा वितरण प्रक्रिया सुरु गरिएको छ। भूमि समस्या समाधान आयोग, जिल्ला समिति रामेछापले पहिलोपटक जिल्लामै रामपुरबाट निस्सा वितरण सुरु गरेको हो।
शनिबार आयोजित कार्यक्रममा रामपुरका ३१५ जना भूमिहीन र २ जना सुकुम्बासीलाई निस्सा वितरण गरिएको वडा अध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार जनजाति समुदायको बाहुल्यता रहेको यस वडाका बासिन्दाले लामो समयदेखि आफ्नो नाममा जग्गा नभएर समस्या झेल्दै आएका थिए।
“निस्सा वितरणसँगै अब उनीहरूले लालपुर्जा पाउने आशा पलाएको छ,” वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो। निस्सा पाएपछि अब लाभग्राहीहरुको थप अनुगमन तथा नापजाँचको प्रक्रिया अगाडि बढाइनेछ। यसपछि मात्र उनीहरूलाई कानुनीरूपमा जग्गा स्वामित्व प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने योजना छ।







