हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सुरु,

२०८२ बैशाख २३ गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको  हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा गाउँपालिका–४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा तीन दिने निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरको शुभारम्भ भएको छ। गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले आज औपचारिक रुपमा उक्त शिविरको उद्घाटन गर्नुभयो।

शिविर काठमाडौंस्थित नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। शिविरमा स्थानीय नागरिकहरूले सामान्यदेखि जटिल प्रकृतिका आँखाका रोग तथा दन्त समस्या सम्बन्धी परीक्षण तथा परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

अध्यक्ष वाइबाले विकट भौगोलिक अवस्था, आर्थिक अभाव र असहाय अवस्थाका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले स्थानिय सरकार जनताको अभिभावकसरह भएर स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै गाउँपालिकाले समयमै रोगको पहिचान र जोखिम न्युनिकरणका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो। शिविरमा आवश्यक परेमा विशेषज्ञहरूमार्फत प्रत्यक्ष उपचारको समेत व्यवस्था गरिनेे छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon