मरिण गाउँपालिकामा गलैंचा बुनाई तालिम सुरु, ३४ गृहणीको सहभागिता
सिन्धुली।
सिन्धुलीकाे मरिण गाउँपालिका वडा नम्बर ३ अन्तर्गत बरूणमा आजदेखि गलैंचा बुनाई तालिम सुरु भएको छ। घरेलु महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भरता हासिल गराउने उद्देश्यले तालिम सुरु गरिएको हो। तालिम मरिण गाउँपालिकाको सहयोगमा अर्पण गरिबी निवारण काठमाडौंको आयोजनामा सञ्चालन भइरहेको छ।
कुल ३९० कार्य घण्टा सञ्चालन हुने यो तालिमको औपचारिक उद्घाटन मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष बिमला माझीले संयुक्त रूपमा गर्नुभएको हो। तालिममा वडा नम्बर ३ अन्तर्गतका भालुमारा र बरूण क्षेत्रका ३४ जना गृहिणी महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष विमर्श मुक्तानले सीपमूलक तालिमले महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाहरूले अब आफ्नै घरमै बसेर उत्पादन गर्न सक्छन्। यस्तो किसिमको सीप सिकेपछि आत्मनिर्भर बन्ने बाटो खुलेको छ। ![]()
त्यसैगरी, उपाध्यक्ष बिमला माझीले तालिम महिलाको क्षमता विकासका लागि महत्वपूर्ण अवसर भएको बताउँदै तालिमपछि महिलाहरू स्वरोजगारमा लाग्न सक्ने सम्भावना औंल्याउनुभयो। वडा अध्यक्ष जीत बहादुर श्रेष्ठले पनि तालिमलाई सकारात्मक पाटोको रूपमा लिएर आगामी दिनमा थप स्तरीय तालिमको आवश्यकता रहेको धारणा राख्नुभयो।
तालिम सञ्चालन संस्थाका अनुसार, सहभागी महिलाहरूलाई गलैंचा बुनाईका सम्पूर्ण आधारभूत सीप प्रदान गरिनेछ। तालिममा स्थानीय स्रोत साधनको प्रयोग, परम्परागत तथा आधुनिक ढाँचामा गलैंचा उत्पादन, र बजार व्यवस्थापनसम्बन्धी जानकारीसमेत समावेश गरिएको छ।
छोटो अवधिको तालिमले सम्पूर्ण सीप प्रदान गर्न नसक्ने भएकाले आवश्यकताका आधारमा आगामी दिनमा थप विस्तारित तालिमहरू सञ्चालन गरिने योजना आयोजक संस्थाले बनाएको छ।
स्थानीय तहबाट महिलाको सशक्तीकरणतर्फ देखिएको यो पहललाई सहभागीहरूले स्वागत गर्दै आगामी दिनमा तालिम प्राप्त सीपलाई व्यवहारमा उतारी आफ्नो जीवनस्तर उकास्ने अठोट गरेका छन्।![]()







