हरिहरपुरगढीका किसानको तरबुजा दरबारमार्गमा लोकप्रिय,
सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा तरबुजा खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् स्थानीय किसानहरू। ५६ वर्षीय शुकदेव राईले नेतृत्व गरेको जागरण कृषि समूहले उत्पादन गरेको तरबुजा काठमाडौंको दरबारमार्गमा रहेको रैथाने कृषि बजारमा बिक्री हुँदैछ।
शुकदेव राईले ४ बिगाहा जमिनमा तरबुजा खेती गर्नुभयो। सुरुमा बजार पाउने नपाउने भन्ने चिन्ता थियो, तर अहिलेसम्म १० हजार किलो तरबुजा बिक्री भइसकेको छ भने अझै ४० हजार किलो खेतमै छ। हालसम्म ३ लाख रुपैयाँको तरबुजा बिक्री भइसकेको उहाँ बताउनु हुन्छ ।
१२ सदस्यीय जागरण कृषि समूहले गाउँपालिकाको सहयोगमा तरबुजा खेती गरेको हो। गाउँपालिकाले बीउ, मल, औजारदेखि लिएर बजारसम्मको व्यवस्था मिलाइदिएको छ। बाग्मती प्रदेश सरकारले ६ लाख र गाउँपालिकाले १२ लाख बराबरको कार्यक्रम सञ्चालन गरेको कृषि शाखा प्रमुख प्रवेश देवकोटाले बताउनुभयो।
दरबारमार्गमा आयोजित रैथाने बाली बजारमा सरस्वती जातको तरबुजा धेरै ग्राहकले मन पराए। उक्त कार्यक्रममा प्रदेश सांसद सरल सहयात्री, माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष पानीराज बोम्जन, गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा लगायतको उपस्थिति थियो।
अध्यक्ष वाइवाले गाउँबाट युवाहरू बाहिरिन थालेको अवस्थामा व्यवसायिक कृषिलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले यस्तो कार्यक्रमले कृषिमा आकर्षण बढेको र पालिकाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
जागरण कृषक समूहको यो प्रयास गाउँमा व्यवसायिक कृषिको सफल उदाहरण बनेको छ।![]()







