हरिहरपुरगढी–८ मा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ८, पान्तलेमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि घुम्ती स्वास्थ्य परीक्षण तथा पहिचान शिविर सम्पन्न भएको छ।
वडा नं. ८ का अध्यक्ष धनबहादुर मोक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको शिविरमा उपाध्यक्ष चेखबहादुर थिङको पनि विशेष उपस्थिति रहेको थियो।
शिविर हरिहरपुरगढी गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी), बनेपा काभ्रेपलाञ्चोकको सहकार्यमा आयोजना गरिएको हो।
गाउँपालिकाका अध्यक्ष वाइबाले अपाङ्गता भएका बालबालिका तथा वयस्कहरूको पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्र्थापनाका लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले यसअघि वडा नं. ६, ७ र ८ मा सञ्चालन गरिएका स्वास्थ्य शिविरहरूबाट १ हजारभन्दा बढी नागरिकले सेवा पाएको उल्लेख गर्दै, अपाङ्गता केन्द्रित यो शिविर विशेष उद्देश्यसहितको रहेको बताउनुभयो।![]()
उहाँले एचआरडिसीको कामलाई उदाहरणीय भन्दै स्थानीय सरकारको तर्फबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो। साथै, सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य सेवाप्रति नागरिकले विश्वास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
उपाध्यक्ष थिङले जन्मजात वा पछि दुर्घटनाका कारण अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एचआरडिसीको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो। उहाँले फरक क्षमता भएका व्यक्तिहरूको भविष्य सुनिश्चित गर्न गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
शिविरमा सहभागिता जनाउने स्थानीयवासीले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुरक्षित गर्न सघाउने विश्वास व्यक्त गरेका छन्।![]()







