शैक्षिक गुणस्तर सुधारको प्रतिबद्धता – हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाइबाको विद्यालय अनुगमन,

२०८२ बैशाख ३१ गते, बुधबार

सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले आज (बुधबार) वडा नम्बर ८ मा अवस्थित श्री क्यानेश्वर माध्यमिक विद्यालय, पान्तलेको अनुगमन तथा शिक्षकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभयो।

कार्यक्रममा अध्यक्ष वाइबाले विद्यालयको शैक्षिक अवस्था क्रमशः सुधारोन्मुख रहेको उल्लेख गर्दै सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले शिक्षकहरुलाई विद्यालय शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यार्थीहरुले पढ्दै, सिक्दै र कमाउँदै जान सक्ने वातावरण सिर्जना गर्न विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

विद्यालयबाट उत्तीर्ण भएका अधिकांश विद्यार्थीहरु वैदेशिक रोजगारीको लागि विदेशिने प्रचलनलाई अन्त्य गर्दै गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँले जोड दिनुभयो। त्यसका लागि कृषि क्षेत्रको सम्भावनाको भरपूर उपयोग गर्दै स्रोत र साधनलाई उत्पादनमुखी बनाउने खालको शिक्षाको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष वाइबाले स्थानीय सरकार विद्यालयको पूर्वाधार विकासदेखि गुणस्तरीय शिक्षाको प्रवर्द्धनसम्मका पक्षमा प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षा नै विकासको मूल आधार भएको स्पष्ट पार्नुभयो।

यस अवसरमा वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष धन बहादुर मोक्तान, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सार्किमान बोम्जन, माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष अजित ठाडा मगर लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थी प्रतिनिधिहरू समेत सहभागी थिए।

स्थानीय तहबाट गरिएको यस्तो अनुगमनले विद्यालय शिक्षा सुधारमा सकारात्मक सन्देश दिने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon