साँघुटारमा पानीको संकट समाधानतर्फ कदम, वडाले बाँड्यो ७५ हिलटेक ट्याङ्की,

२०८२ बैशाख ३१ गते, बुधबार

रामेछाप ।

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ३ साँघुटारले यहि समस्यालाई बुझेर हिलटेक वितरण गरेको छ ।

रामेछापमा पानीको स्रोत सीमित हुँदै जाँदा जनजीवन थप कष्टकर बन्दै गएको छ। विशेषगरी, रामेछाप नगरपालिकाका अधिकांश वडामा खानेपानी तथा सिंचाइका लागि आवश्यक पानीको व्यवस्था गर्नु एक चुनौतीको विषय रहँदै आएको छ।

यसै सन्दर्भमा रामेछाप नगरपालिकाको वडा नम्बर ३ साँघुटारले पानीको समस्यालाई समाधान गर्न प्रयास गर्दै आकाशे पानी संकलनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक घर, एक ट्याङ्की’ अभियान अन्तर्गत हिलटेक ट्याङ्की वितरण कार्य अघि बढाएको छ। वडाका नेवार टोल, खड्का टोल र महत टोलमा रहेका ७५ घरधुरीलाई हालै वडा कार्यालयले हिलटेक ट्याङ्की वितरण गरेको हाे ।

वडाध्यक्ष दल बहादुर प्रधानका अनुसार, वडामा वर्षेनी पानीको अभाव हुने भएकाले नागरिकहरुलाई आकाशे पानी संकलन गर्न उत्प्रेरित गर्न यस्ता कार्यक्रमहरु संचालन गरिएको हो। उहाँले भन्नुभयो, “हामीले गतवर्ष पनि सोही अभियान अन्तर्गत ७० भन्दा बढी घरधुरीलाई ट्याङ्की वितरण गरेका थियौं। यस वर्ष थप ७५ घरमा ट्याङ्की पुर्‍याएका छौं। यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना छ।

वडाध्यक्ष प्रधानले आकाशे पानीको सदुपयोग गर्दै घर आसपासमै तरकारी तथा फलफूल खेती गर्न स्थानीय नागरिकलाई आग्रह गर्नुभएको छ।  यस्तो अभियानले दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्ने मात्र होइन, आत्मनिर्भरता र खाद्य सुरक्षाको दृष्टिकोणले पनि ठूलो योगदान पुर्‍याउनेछ।

रामेछाप नगरपालिकाका अन्य वडाहरुले पनि यस्तै किसिमको अभियान सञ्चालन गरिसकेका छन्। अधिकांश वडाहरुमा ‘एक घर, एक ट्याङ्की’ कार्यक्रम कार्यान्वयनमा आइसकेको छ। यसबाट थोरै भए पनि पानीको संकटमा रहेका समुदायहरुले राहत पाएका छन्।

यस किसिमका अभियानहरु दीर्घकालीन रुपमा निरन्तर सञ्चालन गर्न सके, जलस्रोत सीमित रहेका पहाडी क्षेत्रका बासिन्दाले जीवन यापनमा सहजता पाउने अपेक्षा गरिएको छ। स्थानीय तहको अग्रसरता र जनसहभागिताले मात्रै यस्तो अभियान सफल बनाउन सकिने स्पष्ट देखिन्छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon