गोलन्जोर ३, मुर्की र थाङ्ग्रेमा ‘एक घर एक धारा’ खानेपानी परियोजना सम्पन्न, घरघरमै स्वच्छ पानीको पहुँच,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ अन्तर्गतका दुर्गम बस्तीहरू मुर्की र थाङ्ग्रे गाउँमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी परियोजनाको उद्घाटन तथा हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा गाउँपालिकाका अध्यक्ष श्री शंकर राज बरालकाे प्रमुख आतिथ्य रहेको थियो भने उपाध्यक्ष श्री ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल, Back to Life e.V. Germany का कार्यकारी निर्देशक डेकेन्द्र लाल ढकाल, संस्थाका व्यवस्थापक अनुप पौडेल, अधिकृत अन्जन दाहाल, र समुदाय पद्धति विकास सेवा, सिन्धुलीका प्रोजेक्ट म्यानेजर विष्णु प्रसाद पौडेल लगायत दर्जनौं स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समारोहमा बोल्ने वक्ताहरूले परियोजनाको महत्व, यसको दीर्घकालीन लाभ, र सामुदायिक सहभागिताको प्रशंसा गर्दै यसलाई ग्रामीण जीवनस्तर सुधारको उदाहरणीय प्रयासको रूपमा प्रस्तुत गरे। प्रमुख अतिथि अध्यक्ष बरालले स्थानीय जनताको स्वच्छ पानीमा सहज पहुँच सुनिश्चित गर्न यस्तो परियोजना अहिलेसम्मकै महत्वपूर्ण पहल भएको उल्लेख गरे। उनले भने, “घरघरमै धारा पुगेपछि विशेषगरी महिलाहरू र बालबालिकाहरूको समय र श्रमको ठूलो बचत हुनेछ।”
मुर्कीगाउँमा ४० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिँदै, १८ घरधुरी र १ सामुदायिक विद्यालयमा गरी कुल १९ वटा धारा स्थापना गरिएको छ। यस परियोजनाले स्थानीय विद्यार्थीहरूलाई विद्यालयमै स्वच्छ पानीको सुविधा प्रदान गर्नुका साथै परिवारहरूलाई पानीका लागि लामो दूरी धाउनुपर्ने बाध्यताबाट मुक्त गराएको छ।
त्यसैगरी, थाङ्ग्रेगाउँमा ४० हजार र ५ हजार लिटर क्षमताका दुईवटा ट्यांकी स्थापना गरिएका छन्। उक्त गाउँमा २१ घरधुरी र १ सामुदायिक भवनमा गरी २२ वटा धारा जडान गरिएको छ। यसले थाङ्ग्रेमा रहेका सबै घरपरिवारलाई स्वच्छ र सुरक्षित पानीको पहुँच पुर्याएको छ।![]()
परियोजना कार्यान्वयनका क्रममा स्थानीय जनश्रमदान, प्राविधिक सहयोग, तथा संस्थागत साझेदारी अत्यन्त प्रभावकारी रूपमा देखिएको छ। Back to Life e.V. Germany र समुदाय पद्धति विकास सेवाको सहकार्यमा सम्पन्न यो परियोजनाले भविष्यमा अन्य वस्तीहरूका लागि पनि प्रेरणादायी मोडल प्रस्तुत गरेको छ।
स्थानीय बासिन्दाहरूले परियोजनाको सफल कार्यान्वयनप्रति हर्ष प्रकट गर्दै सरोकारवाला निकायहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। थाङ्ग्रेकै स्थानीयवासी भन्छन्, “हामी वर्षौंदेखि सुरक्षित पानीको अभावमा थियौं। अब भने साच्चै जीवनशैली परिवर्तन हुँदैछ। हाम्रो स्वास्थ्य, समय, र श्रम सबैमा राहत मिलेको छ।”
कार्यक्रमको समापनमा सबै सहभागीहरूले परियोजनालाई दीर्घकालीन रूपमा संचालनमा ल्याउन सामुदायिक स्वामित्व र जिम्मेवारीपूर्ण व्यवस्थापनको आवश्यकता औंल्याएका थिए।![]()







