रामेछाप अस्पतालमा विविध विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर,
![]()
रामेछाप
रामेछाप अस्पतालमा आउँदो जेठ २३ गते एकदिने विशेष स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सो शिविरमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क उपचार सेवा प्रदान गरिनेछ, साथै आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिनेछ।
रामेछाप नगरपालिका र रामेछाप अस्पतालको संयुक्त पहलमा आयोजना गरिन लागेको यस शिविरबारे सार्वजनिक सूचना जारी गर्दै स्थानीय बासिन्दाहरूलाई सेवा उपयोग गर्न अनुरोध गरिएको छ।
शिविरमा हाडजोर्नी, मानसिक स्वास्थ्य, बालरोग, स्त्रीरोग तथा प्रसूति, नाक-कान-घाँटी, शल्यचिकित्सा, छालारोग लगायतका क्षेत्रमा विशेषज्ञहरू उपस्थित हुनेछन्।
त्यसैगरी, श्वासप्रश्वास सम्बन्धी रोग, आन्तरिक रोग, सामान्य चिकित्सा, आँखाको उपचार, फिजियोथेरापी, औषधि वितरण, ईसीजी, भिडियो एक्स-रे, र फोक्सो परीक्षणजस्ता विविध सेवाहरू पनि उपलब्ध गराइनेछ।
यो कार्यक्रम निजामती कर्मचारी अस्पताल, रामेछाप नगरपालिका र रामेछाप अस्पतालको सहकार्यमा सम्पन्न हुँदैछ, जसले जिल्लाका जनतालाई एकै स्थानमा विविध स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्य लिएको छ।







