मन्थली नगरपालिकाका सबै १४ वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा,
रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका सबै १४ वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। आज(बुधबार) एक विशेष कार्यक्रमका बीच नगरपालिकाको सबै वडालाई एकैसाथ बालमैत्री घोषणा गरिएको हो।
नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेतले अनुगमन तथा मूल्यांकनका लागि जिल्ला समन्वय समितिबाट आवश्यक प्रक्रिया पूरा भएपछि सबै वडाहरूले बालमैत्री घोषणाको मान्यता पाएको जानकारी दिनुभयो। उहाँले बालमैत्री घोषणालाई दिगोपन दिन समुदाय, स्थानीय सरकार, बाल क्लब, अभिभावक र विभिन्न सरोकारवालाहरुको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, बाल अधिकारको सुनिश्चितताका लागि सबैले सहकार्य गर्दै लाग्नुपर्नेमा उपप्रमुख बस्नेतले जोड दिनुभयो।
मन्थलीका सबै १४ वटै वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा उल्लेखित ५१ वटा सूचकहरू पूरा गरेका छन्। यी सूचकहरू अन्तर्गत बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा, संरक्षण, सहभागिता र समग्र समृद्धिमा विशेष ध्यान दिइएको छ। विगत केही वर्षदेखि स्थानीय सरकारले बालमैत्री अवधारणालाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्दै आएको हो। यसै क्रममा बाल अधिकार प्रवर्द्धन, बालश्रम न्यूनीकरण, बाल हिंसाविरुद्धको सचेतना अभिवृद्धि तथा बालबालिकाका लागि मैत्रीपूर्ण पूर्वाधार विकासमा समेत महत्वपूर्ण प्रगति भएको छ।
घोषणा कार्यक्रममा शिक्षक, अभिभावक, बाल क्लबका सदस्य लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुले बालमैत्री स्थानीय शासनलाई दिगोपन दिन प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब बालमैत्री वडा घोषणा भएपछि सम्पूर्ण विवरण बाग्मती प्रदेश सरकारमा पठाइनेछ। त्यसपश्चात प्रदेश सरकारबाट आवश्यक अनुमोदन प्राप्त भएपछि सम्पूर्ण मन्थली नगरपालिकालाई नै बालमैत्री नगरपालिका घोषणा गरिने प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसअघि मंगलबार रामेछाप नगरपालिकाका ९ वटै वडा पनि बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएका थिए। यसले जिल्लामा बाल अधिकार प्रवर्द्धन र संरक्षणका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको संकेत गर्दछ।
बालमैत्री घोषणाले स्थानीय सरकारको बालबालिका प्रति उत्तरदायित्व अझै बढेको छ। आगामी दिनहरूमा पनि बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने अपेक्षा गरिएको छ।![]()







