फिक्कल गाउँपालिकामा नवनिर्मित भवन हस्तान्तरण, अब नयाँ भवनबाट सेवा दिने तयारी,
सिन्धुली, ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको प्रशासनिक कार्यका लागि निर्माण गरिएको नवनिर्मित गाउँपालिका भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। फिक्कल गाउँपालिका सभाहलमा पूर्वाधार समिति संयोजक शंकर बहादुर भण्डारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा सो भवन हस्तान्तरण गरिएको हो।
भवन निर्माणको जिम्मा पाएको धुलिखेल निर्माण सेवा प्रा.लि., काठमाडौं ले २०७८ मंसिर ३ गते सम्झौता अनुसार काम थालेको थियो। प्रारम्भमा १० करोड ९२ लाख ४८ हजार ८ आठसय १५ रूपैयाँ ६६ पैसा (भ्याट सहित) अनुमानित लागतमा सार्वजनिक टेन्डर प्रक्रिया सुरु भएको भए पनि ठेक्का सम्झौता ५ करोड ८९ लाख ५० हजार ४ चारसय ९१ रूपैयाँ ६१ पैसा (भ्याट सहित) मा भएको थियो। टेन्डर प्रक्रिया २०७८ असार २२ गतेदेखि सुरु गरिएको थियो।![]()
उक्त भवनमा लिफ्टको समेत व्यवस्था गरिएको छ, जसले अपांगता भएका व्यक्तिहरू तथा ज्येष्ठ नागरिकलाई समेत सहज पहुँच उपलब्ध गराउने लक्ष्य लिएको छ।
भवन हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगर, विभिन्न वडाका अध्यक्षहरू, पालिका सदस्यहरू तथा पालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले नवनिर्मित भवनको हस्तान्तरण फिक्कल गाउँपालिकाका सम्पूर्ण नागरिकहरूको लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाको स्थापनाकालदेखि नै हामीसँग एउटा सुविधा सम्पन्न, सुसज्जित र सबै प्रकारका प्रशासनिक कार्य सहजै सम्पन्न गर्न सकिने आफ्नै भवनको आवश्यकता थियो। विगतका दिनहरूमा हामीले भौतिक पूर्वाधारको अभावमा धेरै चुनौतीहरूको सामना गर्यौँ। कर्मचारीको कार्यक्षमता, सेवाग्राहीको सहजता, र आम जनताको सेवा प्राप्त गर्ने प्रक्रियामा समेत धेरै अप्ठ्याराहरू थिए। आज त्यो अप्ठ्यारो यात्राको अन्त्य भएको छ।”
अपांगता भएका नागरिकहरू, ज्येष्ठ नागरिकहरू तथा अन्य सेवाग्राहीहरूको पहुँचलाई सहज बनाउने गरी बनाइएको यो भवन जनमैत्री प्रशासनको एक नमूना बन्नेछ भन्नेमा म विश्वस्त छु। यो भवन केवल इँटा, बालुवा र सिमेन्टको संरचना मात्र होइन, यो हामी सबैको सपना, हाम्रो मेहनत, हाम्रो योजनाको मूर्तरूप हो। स्थानीय विकास र समुन्नत शासन प्रणालीमा यो भवन एउटा सशक्त आधार बन्नेछ ।![]()
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बरालले निर्माण कार्यमा देखिएको प्रगति प्रति सन्तोष व्यक्त गर्नुका साथै सबै पक्षको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भवन निर्माणको गति तीव्र पार्नु आवश्यक भएकाले केही समय प्राविधिकहरु सँग तिताे वचन भयो हाेला यसलाई सहज रुपमा लिइदिनुहुन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयाे हामी सबैको साझा प्रयासले मात्र विकास सम्भव हुन्छ । कहिलेकाहीँ कामको चापमा केही चित्त नबुझ्ने कुरा हुन सक्छन्, तर तिनलाई व्यक्तिगत रूपमा नभई समग्र प्रगति र उद्देश्यको सन्दर्भमा बुझ्न जरुरी छ ।”भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारी, निर्माण मजदुर तथा सम्बन्धित जिम्मेवार निकायप्रति आभार व्यक्त गर्दै निरन्तरको सहयोगको अपेक्षा गर्ने प्रतिबद्धता सहित धन्यवाद दिनुभयो ।![]()
कार्यक्रमको समापन समारोहका अध्यक्ष संयोजक शंकर बहादुर भण्डारीले आभार व्यक्त गर्दै भवन स्थानीय तहको सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउने माध्यम हुने विश्वास व्यक्त गर्नुभयाे







