बिपी राजमार्गमा राति सवारी आवागमनमा १५ दिनका लागि प्रतिबन्ध,
रामेछाप,
बर्खाको मौसमसँगै जोखिम बढेपछि बिपी राजमार्गमा रातिको समयमा सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ। काभ्रे, सिन्धुली र रामेछाप जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त सुरक्षा समन्वय बैठकले शुक्रबारदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो।
निर्णय अनुसार असार ६ गतेदेखि आगामी १५ दिनसम्म बेलुका ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक बाहेक अन्य सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाइनेछ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा पहिरो र सडक कटानको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको हो।
“सडकका धेरै भागमा वर्षाको कारण बगाएको छ, कतिपय स्थानमा यात्रा अत्यन्तै जोखिमपूर्ण भएकोले यो निर्णय गरिएको हो,” उनले जानकारी दिए।
प्रशासनको निर्देशन अनुसार काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधन काभ्रे भञ्ज्याङमै रोक्नुपर्नेछ भने पूर्वबाट काठमाडौंतर्फ गइरहेका सवारी साधन सिन्धुलीको खुर्कोटमै रोकिने व्यवस्था गरिएको छ।
सुरक्षा निकाय र ट्राफिक प्रहरीले संयुक्तरूपमा रातिको समयमा सवारी नियन्त्रणका लागि खटिने जनाइएको छ।
यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग वा समय व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।







