हरिहरपुरगढी गाउँपालिकाको २१औं गाउँसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक,

२०८२ असार ९ गते, सोमबार

सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २१औं गाउँसभा आज (साेमबार) सम्पन्न भएको छ । अध्यक्ष वज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेखबहादुर थिङले बजेट प्रस्तुत गर्नुभएको थियोे ।

अध्यक्ष वाइबाले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘समृद्ध हरिहरपुरगढीको आधार– शिक्षा, कृषि, वन, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनअपेक्षा अनुसार सेवा प्रवाहमा चुस्तता ल्याई समावेशी र दिगो विकासतर्फ गाउँपालिका अघि बढ्ने बताउनुभयो।

नीति तथा कार्यक्रम संघ र प्रदेश सरकारको नीति, आवधिक योजना तथा स्थानीय सरोकारवालाहरूको सुझावका आधारमा निर्माण गरिएको जनाइएको छ। गाउँपालिकालाई सवल, आत्मनिर्भर, आर्थिक रूपमा समृद्ध र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ।

उक्त नीति कार्यान्वयनका लागि उपाध्यक्ष थिङले प्रस्तुत गर्नुभएको बजेट ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपैयाँको रहेको छ। बजेटमध्ये पूँजीगततर्फ १७ करोड ११ लाख रुपैयाँ र चालु खर्चतर्फ ४४ करोड २ लाख ५५ हजार ९३७ रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। हरिहरपुरगढीको विशेष उत्पादन तरबुजलाई ब्राण्डिङ गर्ने, माटो परीक्षणमार्फत माटोको उर्वरता सुधार गर्ने, कृषि तथा पशुपालनलाई नवप्रवद्र्धनकारी योजनामार्फत व्यवसायिक बनाउने कार्यक्रम समावेश गरिएको छ।

त्यस्तै, गाउँपालिकाभित्रका सबै वडामा निर्माणाधीन सडकहरू सम्पन्न गरी वर्षैभरि यातायात सञ्चालनयोग्य बनाउने, स्थानीय जनशक्ति परिचालन गरी सडक मर्मत सम्भार गर्ने, दीर्घकालीन महत्वका विद्यालय, स्वास्थ्य संस्था र ठूला पूर्वाधार निर्माणका लागि पहिचान र पहल गर्ने योजनाहरू पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

गाउँपालिकाका दुर्गम बस्तीहरूलाई आवातजावतमा सहज बनाउन झोलुंगे पुल निर्माणका लागि समेत आवश्यक समन्वय गरिने बताइएको छ। प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरिएको गाउँपालिकाले जनाएको छ

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon