निर्माण सम्पन्न नहुँदै तामाकोशीमाथिको पक्की पुल भत्कियो, स्थानीय आक्रोशित,

२०८२ असार १० गते, मंगलवार

रामेछाप ।

रामेछापको मन्थली नगरपालिका वडा नं ६ कुनाउरी र वडा नं ७ भटौलीको ठेडिखोलालाई जोड्ने तामाकोशीमाथिको पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ। आइतबार बिहान मुगिटार नजिक निर्माणाधीन पुलको एक स्ल्याब खस्दा स्थानीयबासी त्रसित बनेका छन्।

स्थानीयको भनाइअनुसार, यसअघि पनि वैशाख २६ गते सोही स्थानमा क्षति पुगेको थियो, जसको मर्मत कार्य चलिरहेको बेला पुनः भत्किएको हो। पुल निर्माण २०७८/७९ मा सडक विभागको पुल शाखामार्फत ‘डिजाइन एन्ड विल्ड’ मोडलमा सुरु गरिएको थियो। कालिका–कल्पवृक्ष जेभीले निर्माण जिम्मा लिएको यो पुल करिब २ सय ३० मिटर लामो र ११ मिटर चौडाइको हो।

सरकारी तर्फबाट करिब २२ करोड ५५ लाख ४० हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको यो आयोजना अन्तर्गत हालसम्म ६० प्रतिशतभन्दा बढी भुक्तानी भइसकेको बताइएको छ। तर निर्माण सकिन नपाउँदै पुलको एक भाग भत्किनु निर्माण कार्यको गुणस्तरप्रति गम्भीर शंका उत्पन्न    भएको छ। पुल भत्किएको खबर फैलिएपछि ठूलो संख्यामा स्थानीय घटनास्थल पुगेका थिए। उनीहरू आक्रोशित छन् र निर्माणमा लापरवाही भएको भन्दै कडा विरोध जनाइरहेका छन्।

तामाकोशीमाथिको उक्त पुल रामेछापको मन्थली क्षेत्रलाई खाँडादेवी, सुनापती, दोरम्बा शैलुङ लगायतका गाउँपालिका र खुर्कोट हुँदै काठमाडौँसँग जोड्ने वैकल्पिक छोटो मार्गको रूपमा महत्त्वपूर्ण मानिएको थियो।

हाल असार महिनाभित्र सम्पन्न हुने भनिएको पुल निर्माणको म्याद अझै बाँकी रहे पनि यसअघिनै देखिएको भौतिक क्षतिले योजना कार्यान्वयनको अवस्था र जिम्मेवार निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

स्थानीयबासी र सरोकारवाला पक्षहरूले तत्काल उच्चस्तरीय छानबिन गरी दोषी ठेकेदार तथा सुपरिवेक्षण निकायलाई कारबाही गर्न माग गरेका छन्। साथै, उनीहरूले गुणस्तरीय निर्माण सुनिश्चित गर्न जोडदार माग राखेका छन्।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon