मरिण गाउँपालिकाको ७६ करोडको बजेट सार्वजनिक, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता,

२०८२ असार १० गते, मंगलवार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न दोस्रो गाउँसभा तथा सातौं अधिवेशनमा गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध र आत्मनिर्भर मरिण निर्माणका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उहाकाे भनाइ अनुसार कृषि क्षेत्रमा संलग्न कृषकका लागि विनाधितो दुई लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। साथै ‘एक टोल एक सामूहिक उत्पादन’ र ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। बाँझो जमिनलाई उत्पादनमा ल्याउन नीतिगत निर्णयसहित त्यसको सदुपयोगमा विशेष पहल गरिनेछ भने स्थानीय स्रोत र सीप प्रयोग गरेर माछापालन, बिउ उत्पादन र रैथाने बाली संरक्षणलाई प्राथमिकता दिइनेछ।

कृषि र पर्यटनको एकीकृत विकासलाई जोड दिँदै अध्यक्ष मोक्तानले “कृषि पर्यटन” प्रवर्द्धन गरिने उल्लेख गरेका छन्। प्रमुख पर्यटकीय गन्तव्य मधुबनीबाट प्याराग्लाइडिङ सञ्चालन, पञ्चकन्या पोखरीको संरक्षण तथा प्रचारप्रसार र जातीय संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम ल्याइने भएको छ।

भालुमारामा औद्योगिक ग्राम स्थापना गरिने योजना पनि सार्वजनिक गरिएको छ भने भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकलाई जग्गा उपलब्ध गराउने नीति अपनाइनेछ। सूचना प्रविधिको प्रयोगलाई समेत विस्तार गर्दै गाउँपालिकालाई डिजिटल प्रणालीमा अघि बढाइने जनाइएको छ।

गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले आगामी वर्षका लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी छन्। चालु आर्थिक वर्षको तुलनामा यो रकम करिब १३ करोडले बढेको हो। उपाध्यक्ष माझीका अनुसार सामाजिक क्षेत्रदेखि पूर्वाधार निर्माणसम्मका परियोजनामा बजेट विनियोजन गरिएको छ।

“समृद्ध मरिण, सुखी मरिणबासी” भन्ने नाराका साथ अघि बढाइएको यो कार्यक्रमले स्थानीय विकासलाई गति दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon