रामेछाप नगरपालिकाको १७औं अधिवेशन सम्पन्न, ८० करोड बढीको बजेट सार्वजनिक,

२०८२ असार १० गते, मंगलवार

रामेछाप ।
रामेछाप नगरपालिकाको १७ औं नगर अधिवेशन हिजो (साेमबार ) सम्पन्न भएको छ । नगर सभामा प्रमुख लवश्री न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्षकाे स्थानीय विकास योजना, सेवा प्रवाह, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा वातावरणीय संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति प्रस्तुत गर्नुभयो ।

नगर प्रमुख न्यौपानेले समावेशी, दिगो र सन्तुलित विकासको अवधारणा अनुरूप स्थानीय आवश्यकता, नागरिकको सरोकार र उपलब्ध स्रोतलाई यथासम्भव उपयोगमा ल्याउँदै नीति निर्माण गरिएको जानकारी दिनुभयो ।

नगरको नीति कार्यान्वयनका लागि उप–प्रमुख बालकुमारी कार्की थापाले रु. ८० करोड ४४ लाख ५६ हजार १ सय ३० रुपैयाँ ६७ पैसाको कार्यक्रम तथा बजेट नगर सभामा प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला तथा बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, सडक निर्माण, ढल व्यवस्थापन, विद्युत विस्तार, सूचना प्रविधि, नगर सरसफाइ तथा पर्यटन प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

उप–प्रमुख थापाले नगरको समग्र विकासका लागि स्रोतको अधिकतम प्रयोग, पारदर्शिता, जवाफदेहिता र समन्वयलाई मुख्य रणनीति बनाएर बजेट तयार पारिएको बताउनुभयो ।

नगरपालिकाले आगामी दिनमा योजनाको छनौटदेखि कार्यान्वयनसम्म जनसहभागिता, पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon