गोलन्जोर गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका योजना, सेवा तथा कार्यक्रमहरूको सार्वजनिक समीक्षा गर्ने उद्देश्यले वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले आर्थिक वर्षभर सम्पन्न विकास योजना, सेवा प्रवाह, सुशासन तथा समग्र प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले योजना तर्जुमा, विकास निर्माणमा पारदर्शिता, गुणस्तर र प्रभावकारिता बढाउँदै सुशासन कायम गर्न गरिएको प्रयासहरूबारे विस्तृत जानकारी दिनुभयो।
वडापत्र मिडिया ग्रुप प्रा.लीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम गाउँपालिकाका जनप्रतिनिधि, पदाधिकारी, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी, सुरक्षा निकायलगायत सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासा, गुनासा, प्रतिक्रिया र सुझावहरूलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यक्ष रूपमा सम्बोधन गर्नुभएको थियो।
गोलन्जोर गाउँपालिकाले हरेक आर्थिक वर्षको अन्त्यमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम गरी जनप्रतिनिधि र सेवाग्राहीबीच पारदर्शी संवाद र जवाफदेहीतालाई प्रोत्साहन गर्दै आएको छ।![]()







