मन्थली नगरपालिकाकाे ८५.८८ प्रतिशत बजेट खर्च, किसानलाई अनुदान,

२०८२ असार २७ गते, शुक्रबार

रामेछाप ।

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ८५.८८ प्रतिशत बजेट खर्च गर्दै उल्लेखनीय वित्तीय प्रगति गरेको जनाएको छ। शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्र्षी सापकोटाले चालु वर्षभरि सञ्चालन भएका योजना, सेवा प्रवाह र बजेट खर्चको विवरण सार्वजनिक गर्नुभएको हो।

नगरपालिकाले चालु खर्चतर्फ ८९.४९ प्रतिशत, पूँजीगत खर्चतर्फ ७७.९ प्रतिशत खर्च गरेको छ। समग्र बजेट खर्चको अनुपात ८५.८८ प्रतिशत रहेको जानकारी दिइयो। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको कुल स्वीकृत बजेट रु. १ अर्ब १ करोड ९७ लाख ८१ हजार रहेको थियो।

राजस्व संकलनतर्फ नगरपालिकाले निर्धारण गरेको ३ करोड ८५ लाख रुपैयाँमध्ये ३ करोड ७७ लाख ५७ हजार ४१७ रुपैयाँ संकलन गरी ९८.०७ प्रतिशत लक्ष्य पुरा गरेको जनाएको छ। यस वर्ष ६२९ वटा योजना सञ्चालनमा ल्याइएकामा ५९६ योजनामा सम्झौता भई ५९२ वटा योजनाको भुक्तानी समेत भइसकेको विवरण सार्वजनिक गरिएको छ।

कृषि तथा पशुपालनतर्फ नगरपालिकाले दुध उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्दै ८३९ जना किसानलाई अनुदान उपलब्ध गराएको छ। एक वर्षको अवधिमा डेरी उद्योगमा बिक्री भएको १० लाख ८ हजार ८१४ लिटर दुधको आधारमा प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले जम्मा २६ लाख ६३ हजार ५३६ रुपैयाँ अनुदान वितरण गरिएको हो।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पशुपालन र विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए। ती प्रश्नहरूको जवाफ नगर प्रमुख लव श्रेष्ठले दिनुभएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon