रामेछापमा ७२ वर्षीया बुद्धाकाे हत्या,हत्या गर्ने व्यक्ति फरार ,

२०८२ मंसिर २ गते, मंगलवार

रामेछाप ।

रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलमा एक वृद्ध महिलाको हत्या भएको घटनाले स्थानीय क्षेत्र स्तब्ध परेको छ। ७२ वर्षीया भिमा लक्ष्मी खड्कामाथि धारिलो वस्तु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले पुष्टि गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सो अपराध गाउँकै २६ वर्षीय दिलीप खड्काद्वारा गरिएको आशंका गरिएको छ।
सोमबार राति करिब साढे १० बजेतिर घटना भएको अनुमान गरिएको छ। राति साढे १२ बजे मात्रै प्रहरीसमक्ष जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली खटाइएको थियो। रातको अँध्यारो र कठिन भू–भागका कारण टोलीलाई घटनास्थल पुग्न समय लागेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान मात्र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाण संकलन गरेको हो। मृतक भिमाको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिनुभयाे ।

निरीक्षक तिम्सिनाका अनुसार भिमा खड्का एक्लै घरमा बस्दै आएकी थिइन्। घटनापछि फरार रहेको दिलीप पहिले पनि अभद्र व्यवहार तथा चोरी आरोपमा पक्राउ परेर छुटेको व्यक्ति रहेको खुलाइएको छ। स्थानीयका भनाइअनुसार हत्या गरेपछि करिब ११ बजे दिलीप ‘मैले नै हानेँ’ भन्ने प्रकारका अभिव्यक्ति दिदै हिडेका थिए । जसका आधारमा प्रहरीले खोजतलास तत्काल सुरु गरेको हो।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी फुलासीबाट करिब ५ किलोमिटर दक्षिण र जिल्ला प्रहरी कार्यालय रामेछापबाट झन्डै ३५ किलोमिटर उत्तर–पश्चिमतर्फ अवस्थित छ। फरार आरोपीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon