सिन्धुलीमा तीन दिने जुनार प्रवर्द्धन मेला सम्पन्न, व्यावसायिक उत्पादन र बजार विस्तारमा जोड,

२०८२ मंसिर २५ गते, बिहीबार

सिन्धुली ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिण्डेमा तीन दिनसम्म सञ्चालन भएको जुनार प्रवर्द्धन मेला आज(बिहीबार) सफलता पूर्वक सम्पन्न भएको छ।

स्थानीय रूपमा उत्पादन हुने जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसमक्ष परिचित गराउने उद्देश्यले सञ्चालन गरिएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल र उद्योग, वाणिज्य तथा भूमि मन्त्री बिन्दु श्रेष्ठले संयुक्त रूपमा गर्नुभएकाे थियोे ।

समापन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले प्रविधियुक्त उत्पादन र व्यवस्थापनमार्फत जुनारबाट आर्जन वृद्धि सम्भव हुने बताउनुभयाे। उहाँले कच्ची पूर्वाधार, विशेष गरी सडक पहुँच अभावका कारण कृषकले भोग्नुपरेका समस्या समाधानका लागि पहल गरिने आश्वासन दिनुभयाे ।

गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले खन्याखर्क, ढापचौकी र जौबारी सडक स्तरोन्नति नहुँदा जुनारको बजार विस्तारमा चुनौती बढेको उल्लेख गर्दै प्रदेश र संघ सरकारले ठोस लगानी आवश्यक रहेको धारणा राख्नुभयाे ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भौगोलिक विशेषता पहिचान गरी कृषिजन्य उत्पादनलाई बजारसँग जोड्न सके रोजगारी सिर्जना र स्थानीय समृद्धिमा ठूलो योगदान पुग्ने बताउनु भयो ।

पालिकाका अध्यक्ष शंकरराज बरालले एक्लो प्रयासले मात्र सडक विकास सम्भव नहुने बताउँदै सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयाे भने मेलालाई सफल बनाउन सहयोग पुर्‍याउने संघ–संस्था, सुरक्षा निकाय, पत्रकार, स्वयंसेवक तथा सहभागीप्रति उनले धन्यवाद व्यक्त गर्नुभयाे ।

समापन कार्यक्रमलाई जुनार विकास संघका अध्यक्ष कर्ण बहादुर आले मगर, जुनार सुपरजोन समन्वय समितिका संयोजक लालबहादुर श्रेष्ठ तथा कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीलगायतले सम्बोधन गर्नुभएकाे थियोे ।

मेलाको अन्तिम दिन लामो समयदेखि जुनारका बिरुवा उत्पादन गर्दै आएका कृषक, व्यावसायिक रूपमा ४ सयभन्दा बढी बोट लगाई खेती गरिरहेका किसान, जुनार प्रशोधनमार्फत परिकार उत्पादन गर्ने युवा उद्यमी तथा एकल महिलालाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो। साथै, मेला सफल बनाउन योगदान पुर्‍याउने स्वयंसेवक तथा परिकार प्रदर्शक उद्यमीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

मेलाको दोस्रो दिन ‘किसान–संवाद’ कार्यक्रम हुँदा कृषकहरूले रोग–कीरा व्यवस्थापन, खाद्यतत्व, प्रशोधन तथा बजारसँग सम्बन्धित समस्या राखेका थिए भने कृषि विज्ञहरूले बगैचाको अवलोकन गरी प्राविधिक सल्लाह दिएका थिए।

तीन दिनसम्म चलेको मेलामा जुनारबाट बनेका जुस, स्क्वास, जेली, क्यान्डी लगायतका परिकार तथा स्थानीय उत्पादनका विभिन्न सामग्रीको प्रदर्शनी र बिक्री गरिनुका साथै कृषकबीच अनुभव आदानप्रदानका अवसर पनि सिर्जना भएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon