मरिण गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको नीतिगत समावेशीकरणबारे छलफल सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा आज (बुधबार )नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा मरिण गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई नीतिगत रूपमा समावेश गर्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहको नीति, योजना तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, अधिकार र सहभागिता सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा अध्यक्ष विमर्श मुक्तानले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्दै उनीहरूलाई नीतिगत रूपमा समावेश नगरी समृद्ध स्थानीय तहको कल्पना गर्न नसकिने बताउनुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा नीति, योजना तथा बजेट निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, सहभागिता र अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार, संघ–संस्था तथा समुदायबीचको सहकार्यबाट मात्र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न सकिने धारणा राख्दै मरिण गाउँपालिका समावेशी र समान अवसरयुक्त समाज निर्माणतर्फ दृढतापूर्वक अघि बढ्ने स्पष्ट पार्नुभयो
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका समस्या, आवश्यकता र समाधानका उपायबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। छलफल कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ,विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु तथा नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) का अध्यक्ष खङ्ग बहादुर मगर लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







