धुलो–फोहोरकै बीचमा जलेबी, समोसा र चटपटे, नगरपालिकाको चेतावनी पनि बेवास्ता,

२०८२ पुष ११ गते, शुक्रबार

रामेछाप ।
रामेछाप नगरपालिका–८, रामेछाप बजारमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको बिहिवारे हटियामा स्वास्थ्य मापदण्डविपरीत खुलेआम खाद्य वस्तु बिक्री भइरहेको पाइएको छ। तराई क्षेत्रबाट आएका एक महिला र एक पुरुषले वर्षौंदेखि जलेबी, समोसा, पानीपुरी र चटपटे खुला रुपमा बिक्री गर्दै आएका छन्।

हप्ताको एक दिन बिहीबार मात्र लाग्ने यो हटियामा गेडागुडी, खसी–बोका, तथा सिजनअनुसारका तरकारी किनमेल गर्न सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ। भिडभाडका कारण उड्ने धुलो सीधै खुला खाद्य वस्तुमा जम्ने गरेको छ। त्यसैगरी रामेछाप डाँडामा प्रायः चलिरहने हावाले वरपरको फोहोर उडाएर खानामा टाँसिने, कहिलेकाहीँ झिँगा बस्ने गरेको दृश्यसमेत देखिन्छ।

स्थानीयले खाद्य वस्तु झुलले छोप्न सुझाव दिँदा समेत व्यापारीहरूले अस्वीकार गर्दै आएका छन्। व्यापारीहरू “हामीलाई व्यापार गर्न पाए पुग्छ, अरूलाई जे भए पनि मतलब छैन” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको स्थानीयको गुनासो छ। महिला व्यापारीले त “मानिसले खान्छन्, तपाईंलाई के मतलब ? नगरपालिकाले भनेको त मानेको छैन, तपाईंहरूले भनेको सुन्ने कुरै भएन” भन्ने प्रतिक्रिया दिएको स्थानीय बताउँछन्।

सबैलाई थाहा छ—जलेबीजस्ता चिल्लो परिकारमा धुलो छिटो टाँसिन्छ। क्षणिक स्वादका लागि यस्ता अस्वस्थकर खाना सेवन गर्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। तर, चेतनाको अभाव र लापरवाहीका कारण यो समस्या वर्षौंदेखि यथावत् छ।

यस विषयमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंसँग बुझ्दा उहाँले पटक–पटक सचेत गराउँदा पनि व्यापारीहरूले नमानेको स्वीकार गर्नुभयो।
“उपप्रमुखज्यूको संयोजकत्वमा ६–७ जना कर्मचारीसहित धेरैपटक गएर भेटेका हौं, तर उहाँहरू मान्नुहुन्न,” चापागाईं भन्नुहुन्छ।
उहाँका अनुसार व्यापार गर्ने ठाउँ मात्र होइन, खाना बनाउने स्थान पनि अत्यन्तै फोहोर छ। “एकदिन त मैले आफैं प्लास्टिकको पञ्जा किनेर लगाएर व्यापार गर्नुस् भनेर दिएँ, तर त्यसको पनि प्रयोग भएन,” उहाँले गुनासो व्यक्त गर्नुभयो।

हटियामा किनमेल गर्न आउने रामेछाप नगरपालिका–७, सुकाजोरका दिपक कार्की भन्छन्, “यसरी खुला रुपमा खाना बेच्न पाइँदैन। मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेलाई नगरपालिकाले चेतनाका लागि भए पनि जरिवाना गर्नुपर्छ। दुईजना व्यापारीलाई नियन्त्रण गर्न नसक्ने हो भने नगरपालिकाको भूमिकामाथि नै प्रश्न उठ्छ।”

त्यसैगरी रामेछाप नगरपालिका–६ की उर्मिला तामाङले हटियाको फोहोर वातावरणप्रति आक्रोश व्यक्त गर्दै भन्नुहुन्छ  “भुइँभरि फोहोर छ, धुलो उड्छ। वरिपरि पानी छर्किएको भए पनि हुन्थ्यो, त्यो पनि छैन। व्यापारीलाई त पैसा आउँछ, तर सयौं मानिसको स्वास्थ्य जोखिममा परेको छ। नगरपालिका नजिकै यस्तो खुला व्यापार गर्न दिनु हुँदैन।”

स्थानीयवासीहरूका अनुसार अब पनि समाधान ननिस्किए नगरपालिकाले आफैं पहल गरी झुल वा जाली किनेर उपलब्ध गराउने, कडाइका साथ अनुगमन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेहरूलाई कारबाही गर्ने विकल्पतर्फ जानु आवश्यक देखिन्छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नगरपालिकाले दीर्घकालीन र प्रभावकारी समाधान खोज्नुपर्ने स्थानीयको माग छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon