मरिणमा विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षलाई जिम्मेवारी पत्र हस्तान्तरण,
सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा आज (सोमबार) विभिन्न विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षज्यूहरूलाई जिम्मेवारी पत्र हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तान (प्रख्यात) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनियुक्त अध्यक्षज्यूहरूलाई औपचारिक रूपमा जिम्मेवारी पत्र प्रदान गर्नुका साथै विद्यालय व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गराइएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालयको समग्र विकास, पारदर्शी व्यवस्थापन र विद्यार्थीको हितलाई केन्द्रमा राखेर काम गर्न विद्यालय व्यवस्थापन समिति जिम्मेवार र सक्रिय हुनुपर्छ।” शिक्षक, अभिभावक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिबीच सहकार्य भए मात्र गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्दै नवनियुक्त अध्यक्षज्यूहरूलाई इमान्दारिता र प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षज्यूहरू, गाउँपालिका कार्यपालिका सदस्यज्यूहरू तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर खत्रिको उपस्थिति रहेको थियाे ।![]()







