मरिणमा मेलमिलापकर्ताको क्षमता विकास गर्न ४८ घण्टे तालिमकाे उद्घाटन,

२०८३ असार ३ गते, बुधबार

सिन्धुली।
“विचार, संवाद र एकता : भेदभावरहित न्यायको प्रतिबद्धता” भन्ने मूल नारासहित सिन्धुलीको मरिण गाउँपालिकाको आयोजनामा सञ्चालित मेलमिलाप सम्बन्धी आधारभूत ४८ घण्टे तालिम कार्यक्रम आज (बुधबार) एक समारोहका बीच उद्घाटन गरिएको छ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष विमला माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायत सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री विमर्श मुक्तानले समुदायमा उत्पन्न हुने साना–ठूला विवादहरूलाई स्थानीय स्तरमै संवाद र मेलमिलापका माध्यमबाट समाधान गर्न सक्नु लोकतान्त्रिक तथा सभ्य समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो मेलमिलापकर्ताहरूले निष्पक्षता, पारदर्शिता र न्यायलाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिँदै यस तालिमले समुदायमा शान्ति, सद्भाव र आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष विमला माझीले मेलमिलाप प्रणालीले न्यायमा नागरिकको पहुँच सहज बनाउने उल्लेख गर्दै सामाजिक सद्भाव कायम राख्न दक्ष मेलमिलापकर्ताको आवश्यकता रहेको बताउनुभयो। उहाँले तालिममा सिकाइएका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

समुदाय स्तरमा उत्पन्न हुने विवादहरूको शान्तिपूर्ण समाधान, सामाजिक सद्भाव कायम गर्ने तथा न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon