भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घट्याे

२०८१ मंसिर १० गते, सोमबार
unn.prixa.net

काठमाण्डौ – सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।

मङ्सिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon