मरिण गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न, नीति तथा बजेटमाथि महत्वपूर्ण छलफल,

२०८२ असार २७ गते, शुक्रबार

सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकाको दोस्रो गाउँसभा (सातौं अधिवेशन) अन्तर्गत बैठक नं. ०२ गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियोे ।

सभाको प्रारम्भ औपचारिक उद्घाटनबाट गरिएको थियो। उद्घाटनपछि अध्यक्ष मुक्तानले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।

प्रतिवेदनमार्फत उहाँले गाउँपालिकाको नीति, योजना र बजेट कार्यान्वयनको अवस्था, चुनौती तथा सम्भावनाबारे स्पष्ट जानकारी दिनुभयो। साथै आगामी वर्षका लागि प्राथमिकतामा राखिने कार्यक्रमहरूको खाका प्रस्तुत गर्दै, ती योजनाहरू जनताको आवश्यकता र स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा निर्माण गरिएको बताउनुभयो।

बैठकमा उपस्थित गाउँसभा सदस्यहरूले विभिन्न पक्षमा आफ्ना विचार, सुझाव तथा जिज्ञासा राखे। सदस्यहरूले योजना तर्जुमा, बजेटको न्यायोचित वितरण, सेवा प्रवाहमा पारदर्शिता, पूर्वाधारको सन्तुलित विस्तार, शिक्षा, स्वास्थ्य र कृषि विकासका विषयमा धारणा राख्दै सुझाव प्रस्तुत गरेका थिए।

गाउँसभा बैठकमा सदस्यहरूको उत्साहजनक उपस्थिति रह्यो। बैठकभरि छलफल सजीव र उद्देश्यकेन्द्रित देखिएको थियो।
बहस, सुझाव र प्रतिवेदनका आधारमा नीति तथा बजेटमाथि आवश्यक संशोधन र परिमार्जन गरिएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष विमर्श मुक्तानले समापन मन्तव्यमा गाउँसभाबाट प्राप्त सुझाव र छलफलहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो। उहाँले सहभागितामूलक स्थानीय शासनको अभ्यास गर्दै मरिण गाउँपालिकालाई जनमुखी, उत्तरदायी र समावेशी बनाउने लक्ष्य पुनः दोहोर्याउनुभयो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon