मरिण गाउँपालिकालाई “पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” प्रदान,

२०८२ जेष्ठ २३ गते, शुक्रबार

सिन्धुली ।

पोखरामा आज (शुक्रबार) सम्पन्न “प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN)” को दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा मरिण गाउँपालिका, सिन्धुलीलाई “पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” प्रदान गरिएको छ।

सम्मेलनका क्रममा प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा देशभरका विभिन्न गाउँपालिकाहरूको मूल्याङ्कन गरेको थियो। समितिको मूल्याङ्कन अनुसार मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका को रूपमा छानिएको हो।

शिक्षा क्षेत्रमा देखिएको सक्रिय नेतृत्व, नवीन कार्यशैली, दूरदर्शी नीति, र गुणस्तरीय प्रगतिका आधारमा मरिण गाउँपालिकाले पछिल्ला केही वर्षमा उल्लेखनीय सुधार र उपलब्धि हासिल गरेको मूल्याङ्कन समितिको ठहर छ। गाउँपालिकाले शैक्षिक पूर्वाधार विकास, शिक्षक तालिम, शैक्षिक गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग, र विद्यार्थीमैत्री वातावरणको सिर्जनामा विशेष ध्यान दिएको पाइन्छ।

समारोहमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान (प्रख्यात) ले उक्त सम्मान ग्रहण गर्नुभयो। सम्मान प्राप्त गरेपछि अध्यक्ष मोक्तानले गाउँपालिकाको समग्र विकासमा विशेष गरी शिक्षा क्षेत्रमा देखिएको प्रगति सामूहिक प्रयासको परिणाम भएको बताउँदै समर्पित शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय जनसमुदायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भविष्यमा अझ गुणस्तरीय शिक्षाका कार्यक्रमहरू अगाडि बढाइने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

“पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” ले मरिण गाउँपालिकाको नाम मात्रै उच्च बनाएको छैन, यसले सम्पूर्ण सिन्धुली जिल्लाकै शैक्षिक विकासको पहिचानलाई बलियो बनाएको छ। शिक्षा क्षेत्रमा भएको यस उपलब्धिले अन्य पालिकाहरूसमक्ष पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon